Featured Post

खै त आमालाइ के दिन सक्यौ | अविशेक श्रेष्ठ

खै त आमालाइ के दिन सक्यौ | मुटु छुने कथा | अविशेक श्रेष्ठ |  खै त आमालाई के दिन सक्यौ ?"                बच्चाहरुको प्यारो शब्द ...

Featured Posts

Random Posts

Saturday, April 1, 2017

खलासी भाइ - बुद्धि सागर

No comments :
खलासी भाइ

`तिमी ठूलो भएर के बन्छौ?´
 मोहन जहिल्यैको `विज्ञान सर´ हर्के जहिल्यैको `डाक्टर´ काँहिलो जहिल्यैको `हिरो´ चमेली जहिल्यैकी `गायीका´। मेरो चै हात जहिल्यै हावामा, जिब्रो जहिल्यै चुपचाप। अंग्रेजी घण्टीको अन्तिममा हरेक दिन विज्ञान सरले सोध्थे, म हात उठाएर हाँसीमात्र रहन्थें। अनि सर भन्नुहुन्थ्यो, ‘तँ बुजु्रक नेता बन्नु।’ म जहिल्यै दुबिधामा पर्थेँ– म के बन्नु? नेता बनुँ भनेँ नेता कस्तो हुन्छ? के गर्छ? केहि थाहा छैन। डाक्टर इञ्जिनियर पनि न देख्या छ न राम्ररी बुझ्या छ। अब डाक्टर, इञ्जिनियर, नेता बन्नु अगाडी तिनका बारेमा नबुझी के यो हुन्छु भन्नु। नबुझ्न नी खोज्या होइन। दुईचारचोटी गाउँमा डाक्टर, इञ्जिनियर आ’का छन् भन्ने हल्ला सुनेको हो तर मलाई घरबाट एक्लै हिँड्न दिँदैनन्। फेरि ति डाक्टर इञ्जिनियर हाम्रो चिया पसलमा चिया बिस्कुट खान पनि आएनन्।
      म कक्षा दुईमा पढ्थें। घरबाट स्कुल जान पैँतालिस मिनेट हिँड्नुपर्थ्यो। एक्लै हिँड्दा हराउँछ भनेर नौ कक्षामा पढ्ने तल्ला घरका दानबिरे काकाकी छोरीले संगै स्कुल ल्याउने पुर्याउने गर्थिन्। मलाई चाहिँ एक्लै घरबाट स्कुल जाउँजस्तो लाग्ने। एकदिन घर फर्किँदा दिदीलाई सोधें–`म ठूलो भएर के बनम्?´ दिदी भन्थिन्,‘धेरै पढेर पुलिस् बनेस् ।’ ओहो ! त्यस्तो डरलाग्दो बन्नु? त्यस्तो डरलाग्दो हुनपनि धेरै पढ्नुपर्ने रै’छ । आफुलाई भने पढ्नमा भन्दा धेरै ध्यान छुट्टिको दिनको गोलिडन्डामा हुन्थ्यो।
     एउटा शनिबार बा कसैको मेला गएनन्। आमा दोकानमै थिन्। बाले `हिँड् घट्ट मकै पिँध्न´ भने। हिँड्न भनेपछि खुब जाँगर चल्ने मलाई। घरबाट घट्ट पुग्न आधाघण्टा लाग्थ्यो। बाटो ठूलै थियो। गाडीचाहिँ बर्षमा कहिले कहिले आउँथे बाटोमा। गाडी देख्न तीनघण्टा हिँडेर खुमलटार पुग्नुपर्थ्यो।
अझै धेरै गाडी देख्नचाहिँ खुमलटारबाट दुई घण्टा गाडी चढेर सदरमुकाम नै पुग्नुपर्थ्यो। बुवाभन्दा अलि पछाडी अथवा अलि अगाडी हिँड्यो कि बाटो भुलिन्छस्, घर आइपुग्दैनस् भनेर संगसंगै हिँडाउनुहुन्थ्यो। म पनि बाटो देख्न पाए कस्तो हुन्थ्यो होला, नहराउन पाए कस्तो हुन्थ्यो होला जस्तो लाग्थ्यो। पसलमा कहिलेकाँही मान्छेले फलानो ठाउँमा मन्दिर बना’का छन् रे , फलाना ठाममा झरना छ रे भन्दा एक्लै जान पाए हुन्थ्यो, बाटो देख्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो।
घट्टबाट फर्किँदै गर्दा बालाई सोधें–‘बा यी डाक्टर र इञ्जिनियर कस्ता हुन्छन्।’ बाले हाँस्दै भने,‘डाक्टर डाक्टरजस्तै, इञ्जिनियर इञ्जिनियरजस्तै हुन्छन् केटा।’
फेरि सोधें– ‘म चैं ठूलो भ’र के बनुम् त उसो’भा?’ बाले खै के सोचेर पुलुक्क हेरेर भने–‘डाक्टर बनेनी भो इञ्जिनियर बनेनी भो।’ फेरि खै के सोचे बाले तलदेखि माथिसम्म हेर्दै भने– ‘इञ्जिनियर बनेस् केटा देश विदेश घुम्न पाउँछस्।’
ओ हो ! घुम्न पाइयो त सकियो। अब छोरो इञ्जिनियर भो।

भोलिपल्ट स्कुलमा सरले फेरि सोधे। जुरुक्क उठेर इञ्जिनियर बन्छु भन्दिम् की जस्तो लाग्यो। फेरि सोचें– आ यो  सरलाई के भनिराख्नु, एकैचोटी इञ्जिनियर बनेर देश विदेश घुमेरै देखाइदिन्छु। मोहन, हर्के, काइँलाले जहिल्यै कै विज्ञान सर, हिरो र डाक्टर बनिरहे ।
त्यो दिनदेखि गोलिडण्डा खेल्न बन्द। यत्रो इञ्जिनियर भ’र देश बिदेश घुम्ने खुट्टालाई गोलीडण्डा खेलेर गलाउनु हुँदैन। एकदिन शनिबार तल काली खोलामा पुल बनाउने मान्छे आउँदैछन् भन्ने सुनियो। बाले हिँड् केटा इञ्जिनियर हेर्न मात्र के भनेथे खुट्टा पुरै फुरुङ्ग भो। सुकिलो राम्रो को नाममा निलो स्कुलको पाइन्ट ला’र हिँडियो इञ्जिनियर हेर्न। बगरभरि मान्छे नै मान्छे थिए। एकछिन पछि खोलापारी एकहुल मान्छे आ’को देखियो।
बगरमा आएपछि यताबाट दुईजना मान्छे गएर ठूल्ठूला दुईटा झोला तारेर ल्याए। एउटा मान्छे र एउटा झोलालाई पारी नै छाडेर चश्मा ला’को एउटा कालेकाले मान्छेलाई मानबिरे काकाले काँधमा बोकेर खोला तारे। बाले सुटुक्क कानमा भने–‘ए… हेर केटा इञ्जिनियर।’ मनमनै विचार गरें– कस्तो हुतिहारा इञ्जिनियर र’छ, खोलै तर्न नजान्ने इञ्जिनियरले देश विदेश कसरी घुम्ला? झट्ट फेरि सोचें– ए……यो त इञ्जिनियर पो त, जहाँजहाँ जान्छ खोला देख्ने बित्तिकै `छु मन्तर´मा पुल बनाइदिन्छ, अनि आफैंले ब’नाको पुलबाटै तर्दो हो।
टिलिक्क टल्किने कालो जुत्ता, कालै पाइन्ट, रातो कमिज अनि बेहुलाले लाउने जस्तो इस्त्रि धसेको कालो कोट र ऐना देखिने चस्मा ला’को इञ्जिनियर मेरै अगाडिबाट माथितिर गयो र अल्लि माथि गएर झोलाबाट अनेक झ्याम्टा झिकुटा झिकेर तीनलौरे डण्डा गाड्दै टुप्पाबाट पहेंलो दुरपिनले पारी हेर्न थाल्यो। पारीको मान्छेपनि त्यसै गर्दैथ्यो।
     अनेक ताना त्रिकुटा मिलाउँदै दुरपिन यता र उता सार्दै पारीको मान्छेलाई हातले यता र उता भन्दै दुरपिन बिसायो र झोलाबाट कालो चारपाटे पटाइजस्तो उघारेर के के थिच्न थाल्यो। बाले सुटुक्क भने,‘हेर केटा कम्पुटर।’ सोचें इञ्जिनियर बन्न सानो कम्पुटरपनि चाहिने र’छ। दुरपिन, ऐना देखिने चश्मा, काला जुत्ता, बे’मा लाउनेजस्तो कोट चाहिँदोर’छ। बाले हिँड् केटा साँझपर्छ भनिहाले, मैले एकछिन बसौँन बा पुल हेरेर जाम्ला भनें। बासंगै अरु मान्छेपनि खितिती हाँसे। दानविरे काकाले हाँस्दै भने–‘अझै सात आठ मै’ना लाग्छ केटा पुल बन्न।’  
आम्मामामा! इञ्जिनियरले भन्दा त गाउँभरीका मान्छेले एक–एक घनु बाँस बोकेर आएदेखि एकदिनमै बन्छ ना’थे पुल। घरजाँदा बाटोमा बालाई सोधें–‘बा तो कम्पुटर र दुरपिनलाई कति रुप्पे पर्छ?’ कम्पुटरलाई पचास हजार पर्छ रे केटा दुरपिनलाई त अझ धेरै पर्ला´– बा जान्ने पल्टिए।
भात खा’र सुत्दैगर्दा यस्सो सोचें– त्यत्रो बिधी कम्पुटर, दुरपिन किन्ने पैसो काँ बाट ल्याउने? त्यस्तो जुत्ता, त्यस्तै कोट, चश्मा किन्ने पैसोपनि छैन। यो इञ्जिनियर बनेर काम रै’नछ। एउटा जाबो पुल बनाउननी आ–आठ मैना लाउँदो र’छ। उता फर्किएर बाको पसिना गनाउने कुममा घुस्रिँदै भने-`बा मलाई इञ्जिनियर मन परेन अब डाक्टर हुन्छु।´
भोलिपल्ट अंग्रेजी घण्टीमा फेरि सरले सोधे– हात उठाएर `डाक्टर´ भन्दिम् कि जस्तोपनि ला’गो। फेरि सोचें, डाक्टर पनि इञ्जिनियर जस्तै धोकेबाज र त्यस्तै धनी निस्कियो भने? त्यसदिन पनि चुपचापै बसें।

       अलिदिन पछि एकदिन मावलबाट हजुरआमा आउनु’भो। आँखाबाट आँसुु आ’को आयै गरेर सदरमुकाम अस्पताल जान आउनुभ’को बुझियो। भोलि बिहानै अस्पताल लाने कुरा भो र मुलबाटो खुमलटारसम्म पुग्नलाई आमालाई बोक्न साँझमा तल्लाघरे मानबिरे काकाको मा घोडा भन्न बा गए। म ओछ्यानमा पसें। मनमनै सोचें–बाले मलाई पनि सदरमुकाम लगेत गज्जबै हुन्थ्यो। एकछिन पछि बा आए र ओछ्यानमा पसे। म लाडे भएर बाको पसिना गनाउने कुममा घुस्रिँदै भनें– `बा म’नि डाक्टर हेर्न सदरमुकाम जान्छु नी?´ बाले `लु न त बिहाना छिट्टै उठ्नुपर्छ अहिले सुत् भने।´
 के खा’र निन्द्रा लाग्थ्यो र। तै पनि डाक्टरका बारेमा सोच्दासोच्दै कतिबेला निदाएछु। बाले बिहानै उठाए। सुकिलोमुकिलो त्यही स्कुलको निलो पाइन्ट ला’र घोडामा आमाको अगाडी बसेर हिँडियो सदरमुकाम डाक्टर हेर्न।
‘ओइ केटा उठ् अब डाक्टर आउने बेला भो’– बाले भने। घोडामा चढेर हिँड्दा कोक्रामा झुलेझैँ भा’थो। कतिबेला भुसुक्कै भएँछु। थुक्क गाडी चढ्या नी था’पाइनछु। म ब्युँझिँदा गज्याङ गुजुङ हल्ला थियो। हामी फलामे कुर्सीमा बसेका थिम्। कोही मान्छे झोलामा स्याउ बोकेर, कोहि पानीका बट्टा बोकेर यताउता गर्दै थिए। अचानक सप्पै मान्छेका आँखा एकैतिर हेर्न थाले। बाले पनि उतै हेर्न थाले। म पनि कुर्सीमा चढेर तन्कितन्की हेर्न थालें। परबाट दुईजना सेता लुगा लगा’का राम्रा दिदीहरुसंग कुरा गर्दै एउटा लामो सेतो कोट ला’को मान्छे आयो। बाले ‘लु डाक्टर साब आए अब’, भने।
टक्टक् इञ्जिनियरका जस्ता काला जुत्ता बजाउँदै सिसाको चस्मा ला’को, सेतो कमिजमा कालो टाइ ला’को मान्छे घाँटीमा पाटको दाम्लोजस्तो बेरेर हाम्रै अगाडीबाट गयो। ओ हो! डाक्टर भनेको ठूलै मान्छे हुँदो रै’छ। हामी बाहिरै बसिरह्यौँ। म फेरि सोच्न थालें– घाँटीमा लाउने त्यस्तै पाटको दाम्लो त बाले बाटिदिन्छन् समस्यै भएन। तर यो सिसाको चस्मा, काला टल्किने जुत्ता, सेतो कोट, टाइ चाहिँ काँ बाट पैसा ल्या’र किन्नु? त्यत्ति नै बेला एउटी दिदी आएर, ‘पालो आयो भित्र जानुस्’, भनिन्। हामी भित्र गइम्। डाक्टर कुर्सीमा बसेका थिए।  हामी जानासाथ कागज हेर्दै आमालाई आफ्नो छेउमा बोलायो र आँखा च्यातेर हेर्न थाल्यो। अनि घाँटीको दाम्लोजस्तो खोलेर दुई तिरको टुप्पो कानमा घुसायो, अर्कोपट्टिको ठोसो आमाको छातीमा राखेर घरी यता घरी उता सारिरह्यो। अर्को घडि भा’को कपडा निकालेर आमाको पाखुरामा बाँध्दै कपडाको तल झुण्डिएको सानो बेलुन फ्याँसफ्याँस पार्न थाल्यो। त्यसपछि आमालाई पर्दा भएको कोठामा लग्यो। म चाहिँ खुसुक्क त्यही पर्दाबाट यस्सो चिहाएँ।
ओ हो! त्यो डाक्टरले त आमालाई अगाडि राखेर त्यो इञ्जिनियरको भन्दा ठूलो दुरपिनले आमालाई हेर्दै र’छ। यस्सो उतापट्टि हेरें, टेबलमा इञ्जिनियरको भन्दा ठूलो थिच्ने भा’को कम्पुटर थियो। आ’र बालाई भनें– बा यो डाक्टरपनि इञ्जिनियरजस्तो र’छ। त्यस्तो दुरपिन, कम्पुटर, जुत्ता, टाइ, कोट किन्न पैसा छैन बा। म डाक्टर बन्दिन ल। बाले भने-`चुपलागेर बस् केटा याँ हल्ला गर्नु हुन्न।´ एकछिनपछि डाक्टर निस्कियो र एउटा चिर्कटोमा के–के लेख्दै भन्यो, ‘अप्रेसन गर्नुपर्दैन औषधि खाँदा हुन्छ।’ त्यो चिर्कटो बालाई दियो। मैले यस्सो चिहाएर हेरें– चारपाँच ठाउँ अंग्रेजीमा हाम्रो हेडसरले जस्तै सहि गरेको थियो। जम्मा `ए´ र `इ´ मात्र बुझें। झट्ट बिरेलाई सम्झिएँ। विज्ञान सर हुन्छु भन्थ्यो कमसेकम विज्ञान सरले कालोपाटीमा लेखेको अंग्रेजी त बुझिन्छ।
कतिबेला त्यहाँबाट निस्कौँ जस्तो लाग्यो। डाक्टर पनि धोकेबाज निस्कियो। बाहिर बाले चिर्कटो देखाएर दोकानबाट ओखती किने।
          साँझ पर्न लागेको थियो, सरासर गएर गाडीमा चढियो। हामी ढोकाको छेउमा बसेका थिम्। आमा भित्तापट्टि, बुवा छेउपट्टि र म बुवाको काखमा बसेको थिएँ। उत्तापट्टि म जस्तै अर्को केटो सायद आमासंगै बसेको थियो। एकछिनमा भ्यार्र कराउँदै गाडी हिँड्न थाल्यो। बिस्तारै हिँड्दा हिँड्दै एकैचोटि हुटिट्याउँजस्तो उफ्रेर एउटा केटो ढोकामा आइपुग्यो र हातले ढ्यापढ्याप पार्दै `जाम् जाम् गुरुजी´ भन्न थाल्यो। मैलेजस्तै निलो पाइन्ट ला’को थियो। खुट्टामा चुटिएर गाँसेको चप्पल अनि माथि बाले मेलामा जाँदा लाउनेजस्तै पछाडि सानो दुलो परेको ठूलो कमिज ला’को थ्यो। बेलाबेला बाहिर हेर्दै कराउँथ्यो— कटुसे, र्‍याम्फे, बाँसघारी, बाँसघारी। ‘खलाँसी भाइ कटुसे पुग्न कति लाग्छ?´—पछाडिबाट कसैले सोध्यो। ‘आधिघण्टामा पुग्छ’—खलाँसी भाइले भन्यो। एकछिन पछि आएर बालाई सोध्यो—`काँ झर्ने?´ बाले `खुमलटार´ भन्दै खल्तीबाट पैसा झिकेर दिए। त्यो मान्छे छेउमा आउँदा मेरो बाको कुमबाट आउनेजस्तै पसिनाको गन्ध आउँथ्यो। खलाँसी भाइले सबै मान्छेलाई सोध्न थाल्यो। काँ झर्ने ?—कोल्टेभिर । अनि तपाईँ ?— म कटुसे। आन्टी तपाईँ नी?— म बाँसघारी झर्ने। पछाडि पुगेर फेरि त्यो मान्छे अगाडि आएर उत्तापट्टि बस्ने आन्टीलाई सोध्यो— काँ झर्ने आन्टी? आन्टीले र्‍याम्फे झर्ने भनिन्।
    अनि म जस्तै केटोले सोध्यो—`मेरो मावल कतिबेला पुगिन्छ?´ `अब एकछिनमा पुगिन्छ´ खलाँसी भाइले भन्यो।
ओ हो ! यो खलाँसी भाइलाई त सप्पै था’रछ। त्यो केटाको मावल पनि था’रछ। यो गाडीमा मावल हिँडेका जति सबैको मावल था’होला। घरपनि था’होला। खलाँसी भाइलाई त मेरो मावलपनि था’होला। खलाँसी भाइ त घट्टपनि एक्लै जान सक्छ होला। मन्दिर, झरना सप्पैतिर जान सक्छ होला! सबै ठामको नाम था’रछ, कतै हराउँदैन होला। अचानक मलाई खलाँसी भाइ मन परेर आयो। मेरैजस्तो निलो पाइन्ट र बाको जस्तो सर्ट भए हुने र’छ। न त डाक्टर इञ्जिनियरको जस्तो दुरपिन चाहिने न कम्पुटर चाहिने। कोट, जुत्ता, चस्मा पनि नचाहिने। पैसापनि नचाहिने। एक्लै सप्पैतिर घुम्म नी पाइने। ओ हो ! खलाँसी भाइ पो बन्न सजिलो र’छ।
     सोच्दासोच्दै हेर्दाहेर्दै खलाँसी करायो—`खुमलटार झर्ने आउनुस् त।´ बा, हजुरआमा र म तिनैजना झर्‍यौँ । म त्यो गाडी पर पुगुन्जेल त्यो ढोकामा उभिएको खलाँसी भाइलाई हेरिरहें। बिहानजस्तै घोडामा झालाझुला खेल्दै राती घर पुगियो। खाना खाएर घुप्लुक्क सुतेपछि निदाइयो ।
भोलिपल्ट त्यही निलो पाइन्ट लाएर सानका साथ स्कुल गइयो। हरेक दिनझैं विज्ञान सरले अंग्रेजी घण्टीको अन्तिममा सोधे— `ठूलो भएर के बन्छौ अरे?´ मोहनेले जुरुक्क उठेर भन्यो, ‘म विज्ञान सर बन्छु।’ पुलुक्क हेरेर मनमनै सोचें, ठिक छ। हर्के जुरुक्क उठेर भन्यो, ‘म डाक्टर बन्छु।’ यस्सो तलतिर हेरें हर्केको जुत्ताबाट बुढि औँलाले हेरिरा’को थियो। मनमनै भनें— तेरो डाक्टर हुने जुत्ता देख्दै छु म। काँइलो एकछिन हिरै भो। अनि चमेली गायीका। कक्षाका अरु साथीले दिनैपिच्छे फरक फरक हुन्छु भन्थे त्यसैले अरुको याद भएन। जब सबैको पालो सकियो तब मैले टक्क हात उठाएँ। सरले हेरिरहे । अनि बेन्चिमाथि चढेर गर्वसाथ भनें— `म खलाँसी भाइ बन्छु सर।´
र आज खालासी नै बने!
#संयोगले!

No comments :

Post a Comment