Monday, March 27, 2017
-झरी परेको त्यो साझ -सागर लामिछाने
-झरी परेको त्यो साझ
-सागर लामिछाने
"फेरि एउटा पागल थपिएछ" मनमनै बोले।तानसेन बजार भरी चर्चा उसकै थियो।"कस्तो अजिबको पागल रहिछ"बिहनिपख सधै हातमा बोरा बोकि बाटोको कागज टिप्दै हिन्थ्यो,नारायणस्थानको बाटो बिहानी र साझ पख सधै ओहोर दोहोर गरिरहन्थ्यो।कपाल जिङ्ग्रङ्ग लटटै लट्टा परेको,खैरो कपडा मैलो ले कलेटी परेको,खाली खुट्टा ,पानी नपरेर चिरा परेको वारि जस्तै फुटेको पैतला। मान्छे अजिबकै थियो,लोग्ने मान्छे देख्यो कि घुरेर हेर्ने कि त रिसाउने अनि आईमाई मान्छे देख्दा भाबुक हुने कि त रोइहाल्ने।अरुले दिएको केही नखाने ,बदो अचम्मको पागल।कहिले ठाडो गल्लिमा लौरो टेक्दै हिन्थ्यो त कहिले हुलाक अगाडि टोलाएर बस्थ्यो।उमेर चालीस कटे जस्तो देखिए पनि उ तीस बत्तिसको हुनुपर्छ।
एकदिन म धवल पुस्तकालय को बाटो हुँदै भगवती टोल तिर जाँदै थिए।बाटोमा फालिएको फोहोरको डङ्गुर मा उसले केहि खोजिरहेको थियो।पोका पारिएका कागज खोल्दै बोरामा हाल्दै थियो,मलाइ रमाइलो लागेर केही बेर अडिएर हेरिरहे,कागज हरु खोल्ने क्रममा उसले एउटा निलो कागज फेला पार्यो,कागज भित्र बासी भात रहिछ,उसले खोल्दा अमिलो गन्ध ह्वास्स नाकमा ठोक्किन आइपुग्यो उसले त्यो कागजलाइ बदो जतन साथ हातमा लिइ त्यो भात खान लाग्यो,खाएर सकेसी बोरामा राखेको सबै कागज त्यही फोहोरमा खनाइ बाटो लाग्यो,
फेरि एकदिन त्यसै गरि भेटियो उ,नगरपालिका को तलपट्टी तिनधारा जाने बाटोमा उसले त्यो फोहोरोमा खाने कुरा खोजिरहेको थियो सायद।धेरै कागज खोलेर हेर्यो अह!पाएन खानेकुरा उसले खोलिसकेका कागजका पोका पटक पटक खोल्थ्यो तर खानेकुरा पाउदैन्थ्यो पाउथ्यो त केवल कुखुराका रौ,प्याड ,धुलो हरु।उ एकपटक रिसायो उसले भुइमा राखेको लौरो ढल तिर फ्याक्यो खुट्टा बजार्यो,रोयो अनि हास्यो फेरि खोज्न सुरु गर्यो।
करिब बीस पच्चिस मिनेट उभिएर हेरिसकेपछि म मा दया जागेर आयो,बोले।
"के खोज्दै हुनुहुन्छ?"
उसले मेरो कुरा सुनेन सायद।आफनै सुरमा आफ्नो काम गरिरहयो।फेरि बोले,
"ओ दाइ त्यो फोहोरमा के खोज्दै हुनुहुन्छ ?"
एसपाली पुर्लुक्क हेर्यो,जवाफ केही दिएन।
"भोक लाछ हो तपाइलाइ?"
अह जवाफ केही दिएन,झन घुरेर हेर्यो,खाउला झै गरि रिसायो।मनमा डर पलायो,
"साला पागल हो ,हान्यो भने त हान्यो हान्यो नि"मन मनै बोले।अनि पचासको नोट उसलाई दिदै बोले,
"यसले नास्ता पानी खाउ"
पैसा लिनै मानेन।मैले नजिकै गएर हातमा राखिदिए,पैसा फ्याकिदियो।पैसा टिपेर फेरि हातमै राखिदिए,उसले मलाइ एक्कासी ढकल्यो र पैसा च्याटी फ्याकिदियो।मलाइ रिस उठयो र भनिदिए-"साला,खाते...मु* तलाइ दया गरेर पैसा दिदा पचेन होइन,तलाई यहि फोहोरको खानेकुरा मीठो लाग्छ होइन,बासी र सडेगलेको खानेकुरा बसाउछ होइन तेरो औकात नै कहाँ छ र होटेल मा बसेर खान..."
"मेरो औकातको कुरा नगर भाइ..."मेरो कुरा काटी उ एक्कासि बोल्यो।उसका आँखा राता भएका थिए सायद मेरो कुरा मन परेन उसलाइ।
र फेरि बोल्यो।
"त यहा बाट गै हाल"
साझ पर्न आटेको थियो,म केही नबोली कोठा तिर लागे,राती आठ नौ बजे तिर अकास गड्याङ्ग गुडुङ्ग गर्न थाल्यो नभन्दै असिना पानी एकै चोटि बर्सिन थाल्यो।त्यो पागल यस्तो पानीमा कहाँ बस्यो होला?के गर्दै छ होला?खानेकुरा पायो कि नाइ होला?रातभरी भिज्यो भने त चिसोले मर्छ बरै!मनमा अनि दिमागमा उसकै मात्र कुरा खेल्न थाल्यो।
घडिमा रातको साढे दस बजेको थियो,पानी रोकिने कुनै छाटकाट थिएन,हावा हुरि सङ्गै पानी छड्के पर्दै थियो।म छाता लिएर त्यही पागललाइ खोज्न हिडे।
तानसेन बजार पुरै घुम्दा पनि कहि भेटिएन उ अन्तिममा उ टुडिखेलको टोप घरमा भेटियो।पानीले निथुर्क्क भिजेको टाउको र पाउ खुम्चाएर हात छाटिमा राखी कुकुर जसरि कुप्री परेर काप्दै चिसो भुइमा सुतिरहेको।ओछ्याउने केही थिएन,उसलाइ देखेर भित्रै देखि माया लागेर आयो।बोलाए।
"दाइ.."
उ बोलेन।मोबाइलको टर्छ मुखैमा लागि फेरि बोलाए-"दाइ.."
यसपाली मलाइ घुरेर हेर्यो,अनि सुतिरहेको मान्छे उठेर बस्यो।चिसोले उसको ओठ निलो भएको थियो।
"जाउ हिद्नुस म सङ्ग मेरो कोठामा"
सुरुमा नाइ भनी टाउको हल्लाइ आनाकानी गर्यो।मैले जबर्जस्ति हात समातेर उसलाइ उठाए।अनि कोठा मा ल्याइ नुहाउन पथाइ न्यानो कपडा दिई,चाउ चाउको तातो सुप खान दिदै बोले।
"तपाइको नाम के हो?"
उसले कचौरा हात कपाउदै उठायो र तातो सुप सुरुप्प पार्दै बोल्यो।
"गङ्गालाल श्रेष्ठ.."
"ढाट्नु भयो" म हास्तै बोले।
"म त्यो राणाकालमा राणा द्वारा मारिएको गङ्गालाल श्रेष्ठ होइन,मेरो नाम नै गङ्गालाल श्रेष्ठ"
"घर कहा हो नि"
"भक्तपुर"
"भक्तपुर को मान्छे यहाँ कसरी?
"समय भाइ"
"मतलब"
"आफ्नै मान्छेले धोका दिए"
"भन्नुस म सुन्छु हजुरको कुरा,"
उ रुन थाल्यो।धेरै बेर रोहिरहयो।म केही बोल्न सकिन।सम्झाउन पनि सकिन।धेरै बेर पछि उ बोल्यो।
"तिमी जस्तै मेरो पनि भाइ छ,उ एउटा अफिसमा जागिर गर्छ।महेस श्रेष्ठ मेरो भाइको नाम हामी दुई दाजुभाइ यति मिल्थ्यौ कि हाम्रो छिमेकी हरु हाम्रो मेलमिलाप देखेर डाह गर्थे,मैले अठार बर्षकै उमेरमा बिहे गरे।मिरा चौहान मेरि श्रीमतिको नाम।घरमा आमा बुवा भाइ र म अनि एउटि सदस्य थप भएको थियो,मेरि जहान मिरा।उनी राम्री थिइन,घरमा सबै खुशी थियौ।बुबाको भक्तपुर मा ठूलो भाडा पसल थियो।मिराले साझ बिहान आमालाइ भान्साम सघाउथिन,दिउँसो बुवालाइ पसलमा सघाउथिन भने म पर्ढै थिए,एस एल सि को तयारी गर्दै थिए।
एस एल सि मा राम्रो अङ्क ल्याएर पास भए,त्यति बेला सरकारी जागिर पाउन सजिलो थियो,मैले खरिदारमा नाम निकाले।दिनहरु राम्रै गरि बितिराथ्यो,एकदिन घरमा झगडा भयो,बुवाले मिरालाइ पसलको पैसा लुकाउछे भन्ने आरोप लगाउनु भो।रातभरी मिरा मसङ्ग रोइ।उसले छुट्टिने कुरा गरि।मैले सम्झाउने कोसिस हरे तर उसले मान्दै मानिने।अन्तिममा हामी छुट्टियौ।सम्पतिको नाममा मलाइ एक टुक्रा पनि केहि पाएन।सम्पती माग्दा बुवाले भन्नुभो"आइमाइको फरिया समातेर छुट्टिन तम्सिस सम्पती त,,,"
म कराउन थाले,
"सम्पती त चाहिन्छ मलाइ"
"तेरो जागिर छ,भाइको केही छैन पर्दैन तलाइ सम्पती.."
बुबा देखि सम्पती पाउने कुनै छातकात थिएन,म अदालत गै मुद्दा लड्ने निधो गरे।कम्तिमा पनि छ महिना मुद्दा लर्दा लर्दै दिन बिते।भएको अलि अलि पैसा अनि मिराको गरगहना मुद्दा लर्दै सकियो।आखिर मुद्दा मा बुवाले नै जित्नुभयो।म चिल्लै।उता जागिरमा हाजिर कम भएकाले हाकिम सङ्ग खतपत भैरहेको थियो।कुरा मिल्दैनथ्यो।दुबैले एक अर्काको केही गल्ती भेट्यो भने तलाइ पखको भावना मन मा पलाएका थियौ।
एकदिन हाकिमले घुस खादै गरेको मैले देखे।त्यो कुरा सबै तिर हल्ला फिजाइदिए।हाकिमले रिसाएर मेरो जागिर नै खोसिदियो।अब म रिट्टै भएको थिए।भक्तपुर मै मैले सानो डेरा लिएर बसेको थिए।डेरा महङ्गो थियो,त्यसमाथी जागिर थिएन ।मिरा कराउन थालेकी थिइन,मैले पत्रीका बाद्ने काम पाएको थिए।त्यस बाट आएको कमाइले डेरा को भाडा दिन त पुग्थ्यो तर खान पुग्थेन।दिन कात्न मुस्किल हुँदै गैरहेको थियो,उधारो समान दिनेहरुले दिन छाडेका थिए मिरा ले हरेक साझ खाना खाने बेलामा गुनासो गर्थी।फलानो ले पैसा मागेछ,अब त भोकै बस्नु पर्छ।अलि कमाइ हुने जागीर गर।म खोज्दै छु भनी उनलाइ सम्झाउथे।अहिले पो अँध्यारो छ जिन्दगी पछि कुनै दिन उज्यालो हुन्छ भन्थे,तर दिन हरु झनै कष्टकर हुन थाल्यो।दिनको एकछाक चिउरा र पानी पनि खाएर बस्यौ।
कोहि आफन्तिले भाइको प्रगती बारे कुरा सुनाउथे।एक साझ मिराले नै भनेकी थिइन।
"देवर बाबू ले अफिसमा काम गर्नु हुन्छ रे,त्यही अफिसको अहिले हाकिम बन्नु भाछ रे काम पाउनुहुन्थ्यो कि?"
मैले "हुन्न"भन्थे।भाइ बुवा आमा मलाइ शत्रु जस्तै लाग्थ्यो।
मिराले धेरै कुरा भनी।अब त जागिर नगरे माइत गएर बस्छु सम्म भनी।अन्तिममा भाइ सङ्ग भेट्ने निर्णय गरे।
अनि भाइको अफिस तिनकुनेमा रहिछ,दिउँसो पख भाइ लाई भेटी सबै कुरा राखे।भाइले जागिर दियो।महिनामा सात हजार,डेरा को मात्र तीन हजार बाकी खान लाउन।
भाइ अफिस देखि सधै चाडो निक्लन्थ्यो,उ त हाकिम मान्छे भन्न केही भएन फेरि जागिर जाला भन्ने डर।सुख दुख चलिराथ्यो।मिरा खुसी थिइन।धेरै पछि उनको मुहारमा खुशी छाएको थियो,उनको खुशिमा म पनि खुशी थिए।
एकदिन अफिसको काम चाडै सकि डेरा तिर सरासर लागे।माघ महिना चिसो मौसम त्यसमाथी झरी पर्दै थियो।हात चिसोले कठाङ्गृएको थियो,मुख देखि तातो बाफ फुस फुस छर्दै हिन्दै थिए।बाटो वरपर केटाकेटी हरु आगो ताप्दै बसिरहेका देखिन्थे।बाटोमा भेट भएका हर कोहि को कुरा जाडो देखि सुरु भएर जाडोमै गएर अन्त्य हुन्थ्यो-"ओ हो यो बर्ष त कति जाडो है?"
कोहि तातो तातो चिया नाकको टुप्पा रातो बनाउदै पिउदै थिए त कोहि न्यानो कपडा लाएर हिनिरहेका थिए।म सङ्ग छाता थिएन म झरिमा भिज्दै छिटो छिटो हिनिरहेको थिए।घडिमा छ बजे पनि चाडै अँध्यारो भएको थियो।मिराको हात हप्तौ देखि खालि थियो,चुरा पसल बाट चुरा किनि उनलाइ उपहार दिन मन लाग्यो।दुई दर्जन चुरा र रातो टीका बोकि उनलाइ खुशी बनाउन हतार हतार डेरा पुग्दा त....."
टक्क अडिडै लामो श्वास लिएर..
"मेरो भाइ र मेरि मिरा एउटै बिस्तारामा पल्टिदै थिए।कुन चाहिँ पतिले सहन्छ,आफ्नी पत्नी पर पुरुष सङग सम्बन्ध गासेको,मेरो मन भाचियो,हातमा रहेको चुरा खसी फुटे,भाचिए त्यो भन्दा बदि मेरो मुटु टुकृयो भाचियो,रुन मन लाग्यो।मैले केही गर्न सकिन आफुलाइ भन्दा बदि बिस्वास गरेकी मिराको खुशी म होइन मेरो भाइ रहिछ,सायद मैले जागिर पाउनु पनि मिराकै कारण हुन सक्छ मलाई बल्ल थाहा भयो,भाइ चाडै अफिस देखि छुट्नुको कारण,मलाइ उनिहरुले कुकुरलाइ सरह गराए।रागो काटदा कुकुरलाइ हड्डी फ्याकियो भने कुकुर हड्डी लिई रमाउदै खान्छ नि त्यस्तै मलाइ पनि जागिर दिई खुशी गराए तर त्यो खुशी धेरै बेर टिकेन।
म अझ सम्झिन्छु,त्यो साझ ,झरी परेको साझ,अकास खै किन रुदै थियो त्यो दिन तर मेरो मन आफनाले नै ढोका दिई रुदै थियो,मलाइ आफू देखि नै वाक्क लाग्न थाल्यो,जिन्दगी बै बोझ लाग्न थाल्यो अझ यो दुई मुठी सास नै भारी हुन थाल्यो,आत्महत्या गर्न नखोजेको होइन तर कालले लान मानेन कि मैले आत्महत्या गर्न जानेन खै किन अहिले सम्म बाचिरहेछु...."
उ टक्क रोकियो,उसको कयौ कुरा सम्झीन सकिन,कहि कुरा बुझ्न सकिन,बुझेको कुरा सम्झेको कुरा डायरिमा लेख्न सम्म सके।भोलि पख बिहानै उ कोठा देखि निस्की ,आफ्नो बाटो लाग्यो।जाने बेलामा उसलाइ मेरो फोन नम्बर दिएको थिए,उसले जतनका साथ गोजिमा राखेको थियो।उ पागल होइन,पागल उसलाइ समयले बनाएको थियो यस्तै सोचे।थाहा छैन अब उ कहाँ जाँदै थियो।त्यसपछी हाम्रो भेट कहिल्यै भएन।तानसेनमा देखा पनि परेन।
करिब एक बर्ष पछि मेरो मोबाइलमा नया नम्बर देखि फोन आयो।कुरा गर्दा उहीँ गङ्गालाल श्रेष्ठ को थियो।भन्दै थियो,बिगतलाइ भुली नया जीवन ज्युन जाँदै छु।भक्तपुर मेरि मिरा मलाइ नै कुर्दै छिन।म गलत छु भाइ,उनले हामी दुबैको लागि शरीर बेचेकी थिइन तर मैले उनलाई बुझ्न सकेनछु।भाइ तिम्री भाउजुलाइ धेरै पछि भेट्न जाँदै छु के लग्दिउ उपहार,,
उ खुशी खुशी बोलिरहेको थियो,मैले हास्तै जवाफ दिए,
"भाउजुको हात र निधार अझै खाली होलान चुरा र टिकि लगिदिनु"
साउनको महिना,झरी परि नै राखेको थियो,समाचारमा नराम्रो खबर सुनियो।त्रिसुलिमा बस खस्यो।बाइसको मृत्यु दुइको उद्दार।
मृत्यु हुनेमा गङ्गालाल श्रेष्ठ को नाम पनि थियो।मन ग्रहौ भएर आयो।साझपख रास्टिय च्यानल बाट समाचार प्रसारण भैरहेको थियो,त्यो दिन पनि झरी परि नै राखेको थियो।सम्झिए गङ्गालाललाइ एक बर्ष अगाडिको उसको हुलिया र म सङ्ग छुटिदा को त्यो अनुहार एकचोटी अनुहारमा आइ नाच्यो।राती अबेर सम्म निद लागेन।म कहिल्यै भुल्ने छैन उसलाइ अनि उसको नमिठो अतितलाइ अझ उसको जिन्दगी बर्बाद गर्ने झरी परेको त्यो साझलाइ अझ भुल्ने छैन त्यो नराम्रो समाचार मेरो कान सम्म ल्याउने झरी परेको त्यो साझलाइ ।
- समाप्त
Subscribe to:
Post Comments
(
Atom
)

No comments :
Post a Comment