Thursday, June 22, 2017
करेन्ट - अविशेक श्रेष्ठ मास्टर
करेन्ट
असारको महिना यसै त पानी पर्ने सिजन । आज पनि झम झम बर्सिरहेकाे थियो पानी । लाथ्यो कसैको वियोगमा मौषम पनि रोइरहेको छ धर्धरी । काठमाडौको ठाउँ पानी परे हिलै हिलो हुने । चैत बैशाखको हुरिले उठाएको धुलो पनि त कहाँ बिर्सेको थिए र । आखिर जे भए पनि सबैको रोजाइ यहि काठमाडौ नै थियो । हुने खाने पनि यहि र गरेर खानेहरु पनि यहि थियो । हुने खानेलाई त रमाइलो थियो होला सायद झरी परेर । तर गरेर खाने मजदुरहरुको बिहान बेलुकाको छाक नै टार्न मुस्किल थियो । म पनि गरेर खाने मजदुर नै भएर होला सायद यस्तै कुराहरु मनमा कुरा खेलिरहेको थियो ।
एक्कासी मोबाइलको घण्टीले मौनता भङ्ग गर्यो । हेरे अपरिचित नम्बर थियो । फोन उठाए । केहि डराएको केहि आत्तिएको आवाजमा बोल्दै थियो ।
"तपाई सुन्दरको साथी होइन ? "
"अ हो किन र ? के भयो ? हजुर को हो नि ?" आत्तिएर सुन्दरको नाम लिदा मनमा चिसो पस्यो । एकै चोटी प्रश्न माथी प्रश्न तेर्साए । उस्ले आफ्नो परिचय दिन भन्दा के भयो त्यो भन्न उचित ठान्यो सायद ।
"उसलाई करेन्ट लाग्यो । अहिले बेहोस अवस्थामा छ । तपाई छिट्टै यहाँ आउनुस ।" हस भने । फोन काटियो । हस त भने तर हतासमा कहाँ त सोध्नै बिर्सिएछु । उसले पनि भन्न बिर्सिएछ क्यारे । फेरि फोन गरे ।
सबै कुरा राम्ररी सोधपुछ गरे । एउटा घरमा वायरिङ्गको काम गर्दै गर्दा करेन्ट लागेर बेहोस भएछ । बेहोसी अवस्थामा नै अस्पताल पुर्याईएर फोन गरेको रहेछ ।
झम झम पानी परिरहेको थियो । छाता ओडेर म हतार हतारमा अस्पताल पुगे । इमर्जेन्सी कक्षको बेडमा मृत्यु सङ्ग लडिरहेको थियो सुन्दर । कपडा खोलिएको थियो । छात्तिमा दुईवटा कालो दाग थियो । सहजै अनुमान लगाउन सकिन्थ्यो कि उसलाई छात्तिमा करेन्ट लागेको रहेछ ।
बाहिर सुन्दरलाई ल्याउने मान्छेहरू खासखुस गर्दै थिए । "वायरिङ्ग गर्दै थियो एकास्सी भुईमा पछारियो । पानीले गर्दा तार सर्ट भएछ क्यारे करेन्ट लाग्यो ।"
डाक्टरहरु पनि हतास हतासमा काम गर्दै थियो । म सिसाको झ्यालबाट भित्र नियालिरहे ।
आखिर मान्छेको जिन्दगी पनि के रहेछ र । बिहान सङ्गै खाना खाएर हास्दै काममा हिडेको सुन्दर अहिले एक्कासि यस्तो अवस्थामा देख्दा सपना जस्तो लागिरहेको थियो । डाक्टर बाहिर निस्कियो । सोधे "डाक्टर साब कस्तो छ अहिले सुन्दरलाई ?" डाक्टर सुने नसुने गरेर फटाफट अघिअघि लाग्यो म पछि पछी लागे । बल्ल बोल्यो डाक्टर " उसलाई बचाउन मुस्किल छ । अब सबै भगवान भरोसा ।" डाक्टरको कुरा सुनेर मेरो पाईलाहरु रोकिए । गोडाहरु फतक्क गलेको थियो । म थचक्क तेहि बसे ।
अति नै मिलनसार मान्छे थियो सुन्दर । हासिमजाक गर्न एकदमै सिपालु । कयौं दुखहरु त उसलाई भेटेर नै भुल्थे । तर आज यो दुखको दिनमा पनि उसैको हासिमजाकको खाचो थियो तर उ आफै मृत्यु सङ्ग लडिरहेको छ । आफ्नै टाउको पनि भारी भएर आयो । उसका बिगतहरु आखामा झल्झली नाच्न थाल्यो ।
एउटा गाउले केटा साधारण परिवारमा हुर्केको परिवारको जेठो सन्तान भएर पनि होला परिवारबाट निकै माया पाएर हुर्केको थियो । माया सङ्गै परिवारको जिम्मेवारी पनि उसैले सम्हाल्न पर्ने अवस्था थियो । पढाई पनि राम्रै थियो । एस एल सी मा पनि प्रथम श्रेणी मा उतिर्ण भएको थियो । मन भरी धेरै पढ्ने आसा लिएर काठमाडौ छिरेको थियो सुन्दर । काठमाडौ छिरेको दिन बेलुका "दाई म धेरै पढेर धेरै पैसा कमाउछु अनि मेरो बा आमा भाई बैनीहरुलाई सुख सङ्ग राख्छु " हो यसै भनेको थियो सुन्दरले । यो वाक्यांश अहिले पनि झल्झली याद आईरहेको छ मलाई ।
काठमाडौको ठाउँ आफ्नो भन्नु कोहि हुँदैन । सुन्दरको लागी त म थिए मेरो लागी सुन्दर थियो । उसले दाई अनि मैले भाई भन्थे । तर साथी भाई भएपनी दाजुभाई भएर बसेको थियौ । यहाँ पढ्न आफुले सोचेको जस्तो सजिलो छैन । कलेजको महँगो शुल्क, कोठा भाडा, खाना खाजा, अनेकौ झमेला थियो । घरबाट पनि कति नै हेर्न सकिन्छ र ? गाउँमा भाई बैनीहरुलाई पनि बा आमाले नै सुखदुःख गरेर पढाउनु भएको थियो । केहि महिना त घरबाट आएको खर्चले राम्रो सङ्ग नै पढ्यो । बिस्तारै बिस्तारै पैसाको अभाव हुन थालेपछी दाई म पनि काम गर्छु भनेको थियो सुन्दरले ।
दिउसोको एक बजिसकेको थियो । अझै पनि झमझम बर्सिरहेको थियो पानी । मेरो आखाहरु पनि रसाउन पुगेछ झरी सङ्गै । अनयासै आसुका ढिक्काहरु खस्न लागे । अरुले नदेख्ने गरि झरिमा रुझेर पखालिदिए । फेरि फर्किए झ्यालमा । नियाले सुन्दरलाई सिसाको झ्यालबाट नै । धेरै दिनको थकाईले आराम गरिरहेको जस्तो देखिन्थ्यो । बेला बेलामा चलमलाउथ्यो । सुन्दरको शरिरले अलिकती चाल लिदा मात्रै पनि मनमा हर्षको पालुवा पलाउथ्यो । म एकोहोरो भएर उसलाई हेरिरहन्थे । मनमा अनेकौ कुराहरु तछाडमछाड गर्दै नाचिरहेको थियो ।
एकपल्ट फेरि ति दिनहरु सम्झिए । आफैलाई ग्लानी भएर आयो । अपराधी आफै भएको महशुस गरे । मैले नै काम सिकाएको थिए सुन्दरलाई । इलेक्टिसियन बनाउन मैले नै सुरुवात गरेको थिए । तर आज यो दिन देख्नुपर्यो ।
कलेजको पढाई सङ्गै उसलाई काम जसरी पनि चाहिएको थियो । आवश्यकता र बाध्यता एकै चोटी मडारिएर आएको थियो सुन्दरको जिवनमा । कुन कुन अफिस मात्र धाएनौ हामी काम खोज्न । अफिसमा बसेर काम गर्न अनुभव अनि आफ्नो मान्छे चाहिने रहेछ । त्यो माथी भर्खर कलेज सुरु गरेको केटालाई कस्ले काम दिन्छ र ? दिनभर डुलेर बेलुका फर्किदा हातमा लाग्यो शुन्य ।
सुन्दरको घरमा खबर पठाउन त बिर्सेको रहेछु । मोबाइल झिकेर काकाको नम्बर डायल गर्न लागे । हात थर्थर कापेको थियो । सास रोकिएला जस्तो भएको थियो । पहिलो चोटी फोन उठाउनु भएन । लामो सास फेरे । फेरि दोहोर्याए सोहि क्रमलाई । बल्ल फोन उठाउनु भयो ।
"काका नमस्कार म तल्ला घरे कान्छा चिन्नु भो त ?"
" अ भन त बाबु के छ खबर "
"ठिकै छ काका । पानी परिरहेको छ । म त बाहिर काममा छु । अनि खाजा खाजा खानु भो ?"
" खाए बाबु । अनि सुन्दरलाई कस्तो छ नि । अचेल त फोन पनि गर्दैन त ।"
" अहिले कता नि काका तपाई"
" म घरैमा छु । यता पनि पानी परिरहेको छ । आज सबै जना घरैमा छ । सुनिराको छ्न सबैले । "
यथार्थ कुरा भन्दा के हालत होला त सुन्दरको घरमा । काकाले आफुलाई समाल्न सक्नुहुन्छ । अनि काकिले ? अनि भाइले ? अनि बैनिले ?
अह भन्दिन । मनमा यस्तै कुरा आयो ।
" उसको मोबाईल बिग्रेको छ काका तेहि भएर फोन नगरेको होला । सुन्दरलाई पनि ठिकै छ । अलिअली ज्वरो आएर सुतिराखेको छ । बरु बुवालाई बोलाईदिनु भन्दै थियो । मैले त भन्नै बिर्सिएछु । तपाई छिट्टै काठमाडौ आउनु है काका । "
"औषधि खाको छैन र तेस्ले ? मोरालाई औषधि भनेपछि तेसै ज्वरो आउछ । औषधि खान कर गर है बाबु । "
" हस काका म अहिले काममा छु पछि फोन गर्छु है काका "
" हुन्छ बाबु "
फोन काटियो । सबथोक काटिएको झै लाग्यो । यता सुन्दर ओइलाएर झर्ने तर्खत गर्दै छ । उता काका काकी हाम्रो छोरा फुल जस्तै फकृदै छ भनेर मख्ख हुनुहुन्छ । करेन्ट लागेर जिवन मरणको दोसाँधमा भएको सुन्दरलाई अलिअली ज्वरो आएको भनेर ढाटिदिए । उसको परिवारलाई वास्तविक घटना पनि सुनाउन सकिन । सुन्दरलाई केहि भइहाले मैले के गर्ने ? केहि सोच्नै सकिरहेको थिइन ।
आज सुन्दर आफ्नो भविष्यको सुन्दर सपना सजाउदा सजाउदै ओइलिएको कोमल फुल जस्तो अवस्थामा छ । काममा प्रतिस्पर्धा हुने हुँदा नै आज यो अवस्था आएको हो । एउटाले लिएको काममा अर्कोले भाजो हाल्ने हुँदा झरी परेको दिन नभनी काममा हिड्नु परेको थियो । कामको मुल्य निर्धारण भएको भए सायद यो अवस्था आउने थिएन होला । काम गर्दा प्रयोग गर्नु पर्ने सेफ्टी पनि सहि रुपमा कार्यान्वयन हुन सकेको छैन । ग्राहकहरु सस्तो र कमसल तार प्रयोग गर्छ्न । आज अलिकती पैसा कम लागे पछी भोली के हुन्छ भन्ने कुरा सोच्दैनन । त्यसैले यस्तो दुर्घटना आईपर्छ ।
हामी जस्तो काम गरेर खानेहरुको कुनै कदर नै छैन । काम गर्नेहरुको लागी कुनै नियम नै छैन । काम गर्ने हामिहरुलाई समाजमा तल्लो दर्जामा हेरिन्छ । कामको कुनै मुल्य नै छैन । काममा एकरुपता छैन । मजदुरको हकहितको लागी खोलिएको सस्थाहरु राजनितिक पार्टीको झोले भएका छन । मजदुरहरुको लागी बनाईएको नियमहरु कार्यान्वयन भएका छैनन् । इलेक्टिसियनलाई दिनुपर्ने सुरक्षाका तालीमहरु दिइरहेको छैन । सामुहिक दुर्घटना बिमा गराइ आकस्मिक उपचार कोष खडा गर्न सकिरहेको छैन ।
आखिर मनमा जति कुरा खेलाए पनि जे हुनु भैसक्यो । अब त्यो कुरा सम्झेर नै के गर्न सकिन्छ र ? कामदारको सुरक्षा बिमा भएको भए उपचारमा सहज हुने थियो । खै त आखिर के रहेछ र ? काम गर्ने मजदुर आखिर नोकर नै त रहेछ नि । कुनै सुरक्षा छैन । कुरा लुकाएर पनि के गर्न सकिन्छ र । काकालाई पनि ढाटेको थिए मैले । सत्य कुरा त भन्नै पर्छ । भोली पल्ट बिहान काकालाई फोन गरेर सबै यथार्थ कुरा सुनाए । काका फोनमा भक्कानिदै बोल्नुभएको थियो । अलिअली पैसाको जोरजाम गरेर काका दिउँसो तिर काठमाडौ आईपुग्नु भो । छोराको अवस्था देखेर सम्हालिन सक्नुभएन । काका गहभरी आशु पारेर एकोहोरो भएर सुन्दरलाई हेरेको हेरै हुनु भो । काकालाई सम्झाए ।
डाक्टरहरु अनवरत रुपमा उपचारमा खटिएका थिए । हामिलाई बाहिर जान भने । मैले काकालाई लिएर बाहिर आए । काकाको आखाबाट आशुको ढिक्का खस्नै लागेको थियो हतपत पुसिदिए । काकाले आफ्नो छोरामा देखेको सपना आशुको ढिक्का सङ्गै पखालिदै गएको थियो । लगभग एक घन्टा बाहिर बसे पश्चात सिस्टर बोल्नुभयो " सुन्दरको मान्छे को हुनुहुन्छ ? उसलाई होस आएको छ भेट्न सक्नुहुन्छ ।"
एकाएक आखामा खुसिहरु मडारिएर आए । काका हत्तपत्त आशु पुछ्दै भित्र लाग्नु भो । म काकाको पछि पछि लागे । भित्र जाने बित्तिकै बाबुछोरा अङ्गालो हालेर हुन थाले । म छेउमा उभिरहे । बाबुछोराको रुवाईले मेरो मन थाम्न सकिरहेको थिएन । रोक्दारोक्दै कति खेर आशु खसिसकेछ पत्तो पाईन । " यो गरिबको पुकार भगवानले सुनिदिएछ । देखिस छोरा कोहि नहुनेको भगवान हुदो रहेछ । " काका बिलौना पोख्दै हुनुहुन्थ्यो ।
सुन्दर केहि बोल्न सकिरहेको थिएन । उसको सबै भाषा आखाले बोलिरहेको थियो । म एकोहोरो भएर सुन्दरलाई हेर्दै थिए हाम्रो आखा जुध्यो । एक्कासि बलजफ्ती रोकेर राखेको आशु बर्सातको झरी सरि बग्यो । म थाम्न नसकेर सुन्दरलाई अङ्गाल्न पुगे ।
बिस्तारै सुन्दरको स्वास्थ्यमा सुधार आउदै थियो । हामी खुसी थियौ । चिनेजानेका साथिभाई र आफन्तहरु फलफूल लिएर भेट्न आउन थाले । चाडै निको हुन्छ भनेर ढाडस दिएर जान्थे । करिब एक हप्ता अस्पतालमा भर्ना गरेर उपचार गरे पछि डाक्टरले एकदुई दिनमा डिस्चार्ज गर्न सकिने जानकारी दिए । काउन्टरमा रकम जम्मा गर्न भनेपछि फेरि अर्को समस्या आईपर्यो । अलि अलि भएको पैसा औषधि खरिद गर्दैमा सकियो अब कसरी काउन्टरमा रकम जम्मा गर्ने त ?
गरिबको लागी त उपचार गर्न पनि निकै गार्हो हुदोरहेछ । अलि अलि सास हुन्जेल सम्म उपचार गराउन पर्यो तर कसरी उपचार गराउने ? काका टाउकोमा हात लगाएर मेचमा झोक्राईरहनु भएको थियो । " काका के भो ? " मेरो बोलि सुनेर काका झस्कनु भो । "कान्छा अब पैसा कहाँ खोज्ने त ? अलि अलि भएको पैसा पनि सकियो । अब घर फर्कने पैसा छैन । निकै गार्हो पर्ने भो त " उदास र मलिन आवाजमा काका बोल्नु भो । म काकाको कुरा सुनेर चुपचाप जुरुक्क उठेर अस्पताल प्रशासनमा गए ।
व्यवस्थापकको ढोकामा पुगेर भित्र जान अनुमती मागे । उहाँले बस्न आग्रह गर्नु भो । म मेचमा बसे । " सर म सुन्दरको मान्छे । सुन्दरलाई पुनर्जीवन दिएकोमा यो अस्पताल प्रती आभारी छौ । हामी गरिबले त उपचार गर्न पनि निकै गार्हो पर्ने रहेछ । अलि अलि भएको पैसा पनि सबै औषधिमा सकियो । अब औषधिसमेत किन्ने पैसा छैन । अस्पतालबाट डिस्चार्ज गर्ने पैसा कसरी जोहो गर्ने हामी त निकै समस्यामा पर्यौ सर । के गर्न सकिएला त ? " मैले एकै चोटी दुखेसो पोखे । केहि समय सुन्यता छायो । एकछिन पछि "म बिचार गर्छु तपाई अहिले जानुस " भनेर भन्नु भयो । म फर्किए ।
कहिले हर्षको आशु त कहिले दुखको आशु । सुन्दरलाई ठिक भएर हर्षको आशु खस्न नपाउदै फेरि पैसा कसरी तिर्ने भन्ने पिरले काका आशु बगाउदै हुनुहुन्थ्यो । काकालाई सम्झाएर भने " काका पिर नगर्नुस । म बन्दोबस्त गर्छु पैसाको । आखिर जे हुनु भैसक्यो । अब सबै ठिक हुन्छ । मैले माथी गएर पनि कुरा गरेको छु । सायद गरिदिनु हुन्छ । म संघमा पनि कुरा राख्छु । त्यताबाट पनि अलिअली रकम निकाल्न सकिएला । पिर नगर्नुस काका ।" काका अलि अलि भए पनि हासिलो हुनु भो ।
आशाको सानो त्यान्द्रो मात्र बाकी भए पनि खुसी हुन सकिदो रहेछ । आसले नै बाच्न सिकाउदो रहेछ । काकालाई सम्झाई बुझाई गरेर म त्यहाँबाट निस्किए । मान्छेहरु आसा देखाई निराशाको तुसारापात गर्न पनि पछि पर्दैनन् । मलाई तेहि कुराको डर थियो । म अस्पतालबाट निस्किएर सरासर संघको अफिसमा पुगे । त्यहाँ कुराकानी पछि जे नहुनु पर्ने थियो ठ्याक्कै तेहि भयो ।
अफिसबाट अलि अलि केहि सुनुवाइ गर्न सकिने जस्तो कुरा आयो तर कहिले चाही फिक्स भएन । सुन्दरलाई छिटो भन्दा छिटो डिस्चार्ज गर्नु पर्नेछ । यहाँको कुराले केहि ढिलो हुने जस्तो देखियो । घटनाको बारेमा राम्रो सङ्ग बुझेर छलफल पछि मात्र राहत स्वरुप केहि रकम आउने रहेछ । गरुङ्गो मन लिएर फर्किए ।
अस्पतालबाट डिस्चार्ज रिपोर्ट लेखिदियो । उपचार खर्च कसरी तिर्ने भन्ने कुराले झन चिन्तित बनायो । अस्पतालबाट कुनै किसिमको छुट गर्न नसकिने जानकारी आयो । काका फेरि घर फर्कनु भयो । जाने बेलामा काकाले भन्नु भयो " अलि अलि सर सापट गरेर भए पनि छोराको उपचारमा लागेको खर्च तिर्नु पर्यो म गाउँ जान्छु तिमि सुन्दरको ख्याल गर है बाबु" हुन्छ भनेर काकालाई फेरि गाउ पठाए ।
काका गाउँ फर्किए पछि झन मलाई आर्थिक समस्या पर्न थाल्यो । सुन्दरलाई कुरुवा बस्ने कि म बाहिर पैसाको जोहो गर्ने ? झन गार्हो हुन थाल्यो । संघका पदादिकारिहरु अस्पतालमा आए । मैले फेरि सोधे के हुदैछ त भनेर ? सुन्दरको सदस्यता पत्र माग्यो । त्यो भए पछि दुर्घटना भएको ठाउँमा अवलोकनको लागी गयौं । सुन्दरको दुर्घटना भएको स्थलमा पुगेर अवलोकन गरेपछी थाहा भयो सुन्दरलाई करेन्ट कसरी लागेको भनेर । सस्तो र कमसल तारको प्रयोग भएको र सेफ्टी टुलको प्रयोग बिना नै काम गरेको हुँदा सो दुर्घटना भएको रहेछ ।
दुर्घटना भएको घरबेटी सङ्ग भेटेर कुराकानी गर्यौ । घरबेटीले पनि आफुले सस्तो तार किनेर केहि पैसा बचाउन खोज्दा दुर्घटना भएको स्वीकार गर्यो र सुन्दरको उपचारमा लागेको खर्च बेहोर्ने कुरा स्वत स्फुर्त रुपमा स्विकार्दै हामी सबै अस्पतालमा फर्कियौ । अस्पतालमा भएको उपचार खर्चको लागी पैसा जम्मा गरिसकेपछी सुन्दरलाई भेट्न सबै जना गयौ । आफ्नो गल्तिले दुर्घटना भएको भन्दै सुन्दरसङ्ग माफी माग्यो । सुन्दरले पनि आफुले सेफ्टी टुलको प्रयोग बिनानै काम गरेकोले यस्तो भएको स्वीकार गर्यो ।
सुन्दरलाई कोठामा ल्याए पछि बिस्तारै सुधार आउदै गयो । गाउँ बाट काकी सङ्गै भाई बहिनी पनि आएका थिए । आफ्नो परिवार सङ्ग बस्न पाउदा सुन्दरले पनि आफ्नो पिडा अलि हलुङ्गो महसुस गरेको थियो । सुन्दरको ओठमा फेरि पुराना खुसिहरु फर्किएको थियो । अब फेरि आफ्नो कामलाई निरन्तरता दिन परिहाल्यो । म पनि काममा जान थाले । करिब एक महिना पछि सुन्दर पनि काममा जान सक्ने भयो ।
संघमा छलफल तथा अन्तरक्रिया कार्यक्रम राखिएको थियो । सुन्दरले आफ्नो घटना पनि सुनाउने मौका पनि पायो । काममा हुन सक्ने सम्भावित दुर्घटनाबाट कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर छलफल गरियो । जोखिमलाई हटाउन सेफ्टी टुलको प्रयोग अनिवार्य गर्न पर्ने , गुणस्तरीय तार र सामानको प्रयोग गर्ने गराउने , रेट दर भाउमा एकरुपता ल्याउने, समय समयमा तालिम तथा भेटघाट गर्नु पर्ने , जस्ता कुराहरु छलफलबाट निस्केको थियो । त्यस पछि गरेका काम हरुमा कहिले पनि हेलचक्राई गरेनन । काम गर्दा सधैं सुरक्षित भएर काम गर्न थाल्यो । अरुलाई पनि सोहि सल्लाह दिन्थ्यो । अहिले सुन्दर पनी पुरै निको भैसकेको छ । खुसी भएर आफ्नो काम गर्छ । यहि काममा नै सन्तुष्ट छ ।
Subscribe to:
Post Comments
(
Atom
)

No comments :
Post a Comment